सरोज खनालको “मिसन अमेरिकी चन्दा !” by Krishna Raj Khanal

–  कृष्णराज खनाल

डा. बाबुरामकाे निर्देशनमा सराेज खनाल अमेरिका अाएका हुन् ?

मेरै नाम र थर भएका एक मित्रले गत हप्ता फेसबुक स्टाटसमा लेख्नुभएछ ‘कलाकार सरोज खनालद्धारा अभिनित प्रेमगीत नामक चलचित्र हेर्ने दर्शकहरुले तिरेको शुल्क कतै नयाँ शक्ति नामक पार्टीलाई चन्दाका रुपमा त गइरहेको छैन ?’
यो एक गूढ रहस्यात्मक प्रश्न हो । माओवादीबाट चोइटिएर नयाँ शक्ति नामक पार्टी गठन गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीमा एक बफादार सिपाहीका रुपमा प्रवेश गरेर ३३ नंबरको वरियता प्राप्त गरेका पूर्व ख्यातिप्राप्त कलाकार सरोज खनालप्रतिको यो शंका नाजायज मान्न सकिँदैन ।
कलाकार राष्ट्रका गहना हुन् । उनीहरु कुनै पार्टी विशेषमा समाहित हुनु आम मानिसका लागि प्रत्युत्पादक हो । माओवादीको कालखण्डमा कलाकारहरु त्यो पार्टीमा तँछाड मछाडको शैलीमा प्रवेश गरे । अहिले सो पार्टी ज्याद्रो रुपमा प्रस्तुत भएको छैन, त्यसैले पनि होला अहिले त्यहाँ पस्ने मानिसहरुको मन्दी त आएको छ नै भित्रकाहरु उकुसमुकुस भएर निस्कनका लागि बाटो हेरिरहेका छन् । यो लेखमा अरुको होइन, सरोज खनालको चर्चा गर्न लागिएको हो । कुनै कलाकार त्यसरी पार्टी विशेषमा पस्नुभन्दा स्वतन्त्र रुपमा बस्न उपयुक्त हुन्थ्यो । स्वतन्त्रतापूर्वक खनालले जीवन जिउने प्रयास गरेको भए निश्चय नै धेरै समयपछि पर्दामा देखिएका खनालको इज्जत वृद्धि हुन्थ्यो । आम दर्शकहरुको चाहना पनि त्यही थियो । तर खनाल कुनै भाग विशेष लिनका लागि हान्निएर उक्त पार्टीमा प्रवेश गरे । न उनीसँग यो पार्टीलाई गति दिने भिजन छ न त त्यहाँ जानुको उचित रिजन नै छ । खनाल मूलतः एक अराजनीतिज्ञ हुन् । उनलाई राजनीतिका थुप्र्रै तिकडमहरु थाहा छैन शायद । सोझो तरिकाले कसैको वहकाउमा लागेर उक्त पार्टीमा लागेको पनि हुनसक्छ । को मान्छे छन् र कस्ता मान्छे छन् भनेर पर्गेल्न सक्नुपर्दथ्यो त्यो उनको ठूलो भूल हो । शायद आइडेन्टिटी क्राइसिसले उनलाई सतायो र सुरुक्क त्यता छिरे । विगतमा पनि त्यही भागका लागि सदावहार नायक भुवन केसी र अशोक शर्मा पनि एमाले र एमाओवादीमा प्रवेश गरेकै हुन् ।अझ अर्का सम्भावनायुक्त अभिनेता रबिन्द्र खड्काले चुनावमा तीन भोट पाएर उपहासको पात्र बनेको उदाहरण नेपाली सिने कलाकारहरुले बिर्सिएका छैनन्। सबैले बुझेको कुरा के हो भने यी सबै लोभी नजरले तत्तत् पार्टीमा छिरेका हुन् । व्यक्ति आफ्नो यात्रामा हिँड्न स्वतन्त्र छ । जुनसुकै पार्टीमा लागून् त्यो उनकै निजी निर्णय हो । यसमा अरु मान्छे चिन्तित हुनुपर्ने कुनै कारण छैन । हाम्रो उखानै छ, भीरबाट खस्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन । निश्चय नै अरुले देखेको भन्दा उनले त्यस पार्टीभित्र देखेको शुभलाभ फरक होला । नत्र उनलाई नयाँ शक्तिमा लागेर जनताको, जनताको लागि राजनीति गर्न जति अप्ठेरो छ, त्यति नै उनको भुत्तिइसकेको कलाकारिता अर्जाप्न पनि ।
माओवादी पार्टीका हर्ताकर्ता डा. भट्टराईको अगुवाइमा सशस्त्र युद्ध भएको हो । उनी यसका योजनाकार हुन् । माओवादी पार्टीले आव्हान गरेको सशस्त्र युद्धमा लागेर १७ हजार मानिसको कत्लेआम हत्या भएको छ । यो न्यायिक हुँदै होइन । बाबुरामले न प्रधानमन्त्री हुँदा न नयाँ पार्टी खोलिसक्दा पनि राष्ट्र र राष्ट्रवासीका नाममा त्यो अक्षम्य अपराधमा माफी समेत मागेका छैनन् । अहिले नयाँ पार्टी खोलेपछि उनका सामु यो पार्टीलाई बलियो शक्तिका रुपमा पनि स्थापित गराउनुपर्नेछ । यसका लागि आर्थिक सबलीकरण मुख्य पाटो हो । सशस्त्र युद्धका बेलामा लुटिएको धन पेरिस डाँडाका हर्ताकर्ताहरुले उनलाई पनि निगाहपूर्वक चाराका रुपमा दिएको भए अहिले पनि संयोजक भट्टराई अकूत सम्पतिका मालिक भइरहन्थे जसरी संसारकै धनी पार्टीमध्येको एक भनेर प्रचण्डको माओवादी पार्टीलाई भन्ने गरिन्छ । यी दुई पार्टीबीच भागबण्डा भयो कि भएन ? त्यो छुट्टै लेखनको विषय हो । अहिले यो पार्टी देशभित्र घरदैलो कार्यक्रम मार्फत र विदेशमा चलचित्रमार्फत चन्दा संकलनको अभियानमा छ । वैशाख र जेठ महिनालाई आर्थिक संकलन अभियानका रुपमा सो पार्टीले तिब्रता दिएको छ । पार्टीका आउरे बाउरेले चन्दा संकलन गर्न के कस्ता हत्कण्डाहरु प्रयोग गर्छन् भन्ने कुरा विगतमा उनको पार्टीले अवलम्वन गरेको चरित्रबाट आम मानिसहरुले अनुमान गरिसकेका छन् भलै सबै अनुमानहरु सत्य भने हुँदैनन् । तथापि सबै अनुमानहरु मित्थ्या पनि हुँदैनन् । त्यही रणनीति अन्तर्गत बाबुरामका विशेष दूतका रुपमा सरोज खनाल अमेरिकाका विभिन्न राज्यमा दुखान्त कथामा आधारित प्रेमगीत प्रदर्शन गर्दै हिँडेको चर्चा छ । यो मिसन अमेरिका हो । भलै यो बनमा बाघ कराउनु र खोरमा बाख्रो हराउनुको संयोग पनि हुनसक्छ । एक जमानामा हरिहर विरही, श्री आचार्य, शिव अधिकारीलगायतका थुप्रै पत्रकारहरु मिसन पत्रकारिता गर्थे । उनीहरुको मिसन थियो एनी हाउ पञ्चायत हटाउ । सरोज खनालको अहिलेको मिसन एनी हाउ मनी कमाउ र नयाँ शक्तिलाई बलियो बनाउ जस्तै प्रतीत हुन्छ । त्यसैको परिपूर्तिका रुपमा अमेरिकाका भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो,ओहायो, कनेक्टिकट, न्यूयोर्क, बाल्टिमोर र वोस्टन जस्ता ठाउँमध्ये कतै यो चलचित्रको प्रदर्शन भइसकेको छ भने कतै गर्ने योजना छ । यसबाहेक पार्टीको नीति अनुरुप उनले यो मिसनमा कति नैतिक र कति भौतिक सहयोग जुटाउन सक्छन् त्यो भने भविष्यकै गर्भमा रहेको छ । उनले गरेको चलचित्र प्रदर्शनबाट संकलित रकमको कति अंश आफ्नो गोजीमा राख्छन् र कति अंश सो पार्टीको खातामा जान्छ अहिले नै अनुमान गर्नु गलत हुनेछ, आर्थिक पारदर्शिता दूधको दूध र पानीको पानी गरिने कुरा स्वयं बाबुरामले नै भनिसकेका छन् ।
संसार परिवर्तनशील छ । सबै चीज परिवर्तन हुन्छन् । हिजोको विचार आज लिइराख्नुपर्छ भन्ने छैन । विचार भिन्न हुनसक्छ तर चरित्र र व्यवहार भने ज्युँ का त्युँ हुन्छ । पार्टी परिवर्तन गर्दैमा विचार पनि परिवर्तन भएको सोचेर कोही मान्छे कसैका पछि लाग्छ भने त्यो उसको सोरै आना कमजोरी हो । मुसाहरुलाई साथ लिएर हज गर्न हिँडेको बिरालाको कथाजस्तै हो । बाबुराम कसैलाई फसाउन सकिन्छ कि भनेर त्यही बल्छी थापिरहेका छन् । बल्छी थापेपछि कलिले भ्यागुता पनि पर्छन् र कहिले माछा पनि पर्छन् । तिनै रगतका छिटा र दाग लागेका मानिसहरुको झुण्ड रहेको एवं उग्र वामपन्थीको वर्चस्व रहेको पार्टीमा उनको पाइला किन र कसरी पर्यो ? यो एक पहेली पनि हो । सशस्त्र द्धन्द्धको उत्कर्षकालमा खनाल अमेरिकामा थिए । द्धन्द्ध, त्यसको परिणति र माओवादीहरुको कृत्यहरुबारे खनाल अनभिज्ञ थिए भनेर भन्न सकिँदैन । किनकि नेपाल दुख्दा यहाँ बसेका नेपालीहरु पनि दुख्छन् । १७ हजार मानिस मर्दा उनी पनि कतिपटक रोए होलान् । संयोग नै भन्नुपर्ला उनी १७ वर्ष नै अमेरिका बसे र स्वदेश फर्के । आफ्नो देश हो, आफू जन्मेको भूमि हो, पहिलो सास फेरेको ठाउँ हो जहिले मन लाग्छ व्यक्ति त्यहाँ जान पाउँछ । यो उसको नैसर्गिक अधिकार हो । अरुले टाउको दुखाउनुपर्ने कुनै कारण छैन । त्यसैगरी उनी जुन पार्टीमा लागुन् त्यो पनि उनकै निर्णय हो । तर जुन पार्टीमा उनी लागेका छन् त्यो पार्टीले अवलम्वन गरेको विचारधारा र प्रजातन्त्रका खातिर विश्वभर पहरेदारी गर्दै आएको देशको विचारधारा नितान्त भिन्न छ । कुन रसायनका कारण उनले ३६० डिग्रीको यु टर्न गरे त्यो कुरा उनलाई वाहेक अरुलाई के थाहा होला र ?
अमेरिकाले वास्तवमा उपनिषद्का मूल मर्म र मान्यताहरुलाई आफ्नो संविधानमा उल्लेख गरेको छ र तिनै मान्यताहरु यसले पालना गर्दै आएको छ । विश्वका विभिन्न भूभागमा भएको मानवाधिकार हनन, प्रजातन्त्र, स्वतन्त्रता, न्याय र समानताका विरुद्ध अमेरिकाले लड्दै आएको लडाइका बारेमा खनाल जानकार थिएनन् भन्न सकिँदैन । उनी जस्ता एक असल कलाकार बाबुरामको फेर समातेर वैतरणि पार गर्छु, संस्कार र संस्कृतिको जगेर्ना गर्छु, समाजसेवा गर्छु, समाजलाई समुन्नत बनाउँछु भनेर राजनीतिमा हामफाल्नु केबल हुटिट्रयाउँले आकाश थामेजस्तै हो ।
अन्तमा, नयाँ बोतलमा हालेको पुरानो रक्सीले कत्तिको मदहोस गराउँछ र खनालले अमेरिकाबाट कति दाम जम्मा गरेर संयोजक भट्टराईका सामु चढाउँछन् त्यसको बहिखाता पार्टीले सबैलाई देखाउला नि ?

Related posts

Leave a Comment