बा, म बिदेश जान्छु – भविन धिताल

BHAWIN

 

 

 

 

” बा, म बिदेश जान्छु, मिल्यो भने मलाई पढ्न लेख्न सजिलो भयो भने उतै बस्छु सधैंभरी ” – मैले बा लाई भने। बा केही नबोली सुर्ती माडेर बसिरहनु भयो। मैले यसो बा को अनुहारमा हेरे । बा को अनुहारको रङ उडेको थियो। निन्याउरो मुख पार्दै रुन्चे स्वरमा बा ले भन्नुभयो -” ठिकै छ, भाई छ हामी सँग”।

म अवाक भएँ । बा ले मलाई हेरेर टोलाउनुभयो। मलाई शह्य भयन। एक्कासी मेरो मुटु भक्कानिएर आयो। आँखा रसायो। मैले महसुस गरें , मैले बोलेको त्यो वाक्य मेरो जिबनको सबै भन्दा गलत र जिम्मेवाररहित थियो।

ब्यक्तिगत आबेगमा आएर मैले जे बोले त्यो गलत बोले। म पढेको मान्छे थियँ तर बुझेको मान्छे थिइन।

म उहाँको ठुलो बाबु थिए, संसारको सबैभन्दा प्रिय मान्छे। म उहाँको बाबु थिए, ठुलो बाबु, उहाँको जेठो सन्तान। उहाँको विश्वाश र भरोसा नै म थिएँ। मलाई देख्दा उहाँ खुशी हुनुहुन्थ्यो। म घर बाहिर गएको छु भने घर फर्केर आयो ? ठुलो बाबु भनेर दसौ पटक आमालाई सोध्नुहुन्थ्यो। म फर्केर नआएसम्म कुरेर बस्नुहुन्थ्यो। खाना खाने बेलामा पनि ठुलो बाबुले खायो? भन्नुहुन्थ्यो।

म बा सँग एउटै ओछ्यानमा बसेर एउटै ब्लान्केट ओडेर फिलिम हेर्थें। बा हिन्दी फिलिम खुब हेर्नुहुन्थ्यो। म पनि बा सँगै बसेर फिलिमहरु हेर्थें, त्यहीँ निदाउथेँ बा सँगै, बा को काखमा। मेरो लागि जिबनको सबै भन्दा उत्कृष्ट र आनन्दको पल तेही हुन्थ्यो मेरो बा को काख।

तर म आज भन्दै थिए ” बा म बिदेश जान्छु, सधैंको लागि, उतै बस्ने गरी । ”

म बिदेश जाने कुरामा बा एकदम दुखी हुनुहुन्थ्यो, त्यती नै खुशी बिद्ध्याबारीधी गर्ने भयो भनेर हुनुहुन्थ्यो। म पनि बा को सपना पुरा गर्ने भएँ भनेर खुशी थिएँ तर त्यती नै दुखी बा सँग बिछोड हुने कुरामा थियो।

बिदेश जाने बेलामा आमा आँशु झारेर नै रुनुभयो, बा ले आँशु झार्नु भएको थिएन तर म महसुस गर्न सक्थे भित्रभित्रै सबै भन्दा धेरै बा रोइरहनुभयको थियो।

टिका लगाइदिनुभयो, खुट्टा ढोगे, अनी गर्ल्याम्म अँगालो हाले मैले, बा लाई। अब म जाँदै छु टाढा बा लाई छाडेर नौ डाँडाँपारी। मनलाई दरो पारेर म एअरपोर्ट भित्र छिरेँ।
म जती जती गन्तब्य तिर उड्दइ थिएँ , त्यती नै मलाई बा को याद आइरहेको थियो।

काठमाण्डौ बस्दाखेरी आमाले फोन गरेर घर कहिले आउछस ? भनेर सोध्दा म भन्ने गर्थे -” जुन दिन मलाई बा को याद आउँछ, त्यही दिन आउँछु।”

बा म जती टाढा भएपनी, जती गाह्रो भएपनी यदी हजुरलाई मेरो याद आयो भने भन्नुस् -” ठुलो बाबु?” , म आउँछु बा सबै कुरा छोडेर आउछु, हजुर लाई भेट्न, मेरो लागि हजुर भन्दा ठुलो न त पैसा हुनेछ न पढाई न त अरु कुनै मान्छे।

हजुरको ठुलो बाबु।

नितान्त ब्यक्तिगत, नियमित डायरिबाट, २०१६ अगस्ट १४, भर्जिनिया, संयुक्त राज्य अमेरिका ।

– भविन धिताल

# सम्पूर्ण बा हरुमा समर्पित जसले हलो जोतेर आफ्नो छोराछोरिलाई शिक्षित बनाएँ।

 

Related posts

Leave a Comment